जिल्ला परिचय
कञ्चनपुर जिल्ला नेपालको एकीकरण हुनुभन्दा पहिले बाइसे–चौबिसे राज्य रहेका वखत डोटी राज्यको सीमा क्षेत्रमा पर्दथ्यो । त्यतिबेलासम्म यस जिल्लाको नामकरण भइसकेको थिएन । मल्ली माल र तल्ली मालको नामबाट चिनिने यस जिल्लाको भूभाग पनि कैलाली जिल्लाकै भूभागमा समावेश रहेको थियो ।
सन् १८१४ देखि १८१५ सम्म अंग्रेजसँग भएको युद्धपछि सन् १८१६ मा गरिएको सुगौली सन्धिबाट काली नदी पश्चिमको सम्पूर्ण भू–भागसँगै तरार्ईको कञ्चनपुर पनि इस्ट इण्डियामा गाभिएको थियो । सन् १८६० को प्रत्यावर्तन सन्धि भएपछि कैलाली, कञ्चनपुर, बाँंके र बर्दियासम्मको तरार्ई भूखण्ड नयाँ मुलुकको रुपमा नेपाललाई प्राप्त भएको थियो । नेपालमा आवद्ध भइसकेपछि मात्र कैलाली र कञ्चनपुर छुट्टाछुट्टै जिल्ला बन्न पुगेका हुन् । कञ्चनपुर नयाँ जिल्लाको रुपमा स्थापित हुँदा यसको सदरमुकाम हालको बेलौरी नगरपालिकाको बेलौरी बजारमा रहेको र सोही बेलौरी नजिकको कञ्ज नामक ग्रामबाट कञ्चनपुर जिल्लाको नामकरण हुन गएको भन्ने इतिहासका अध्येताहरुको भनाई रहेकोपाइन्छ । यस जिल्लाको हालको सदरमुकाम २०१९ सालपछि कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरमा सारिएको देखिन्छ ।
नेपालको संविधानबमोजिम संघीय गणतन्त्र नेपालको मूल संरचना ३ तह ९संघ, प्रदेश र स्थानीय० मा हुने व्यवस्था र राज्यको पुनर्संरचना अनुसार सात प्रदेशमध्ये कञ्चनपुर जिल्ला सुदूरपश्चिम प्रदेशको तराईमा अवस्थित जिल्ला हो ।
भौगोलिक अवस्थाः
यस जिल्लाको पूर्वमा कैलाली, पश्चिम तथा दक्षिणमा भारत र उत्तरमा डडेलधुरा जिल्ला पर्दछ । यो जिल्ला २८० ३२' उत्तरीदेखि २९० २८' उत्तरी अक्षांश र ८०० ३' पूर्वदेखि ८०० ३३' पूर्वी देशान्तरसम्म फैलिएको छ । यस जिल्लाको क्षेत्रफल १,६१० वर्ग कि.मि.मध्ये ३७ प्रतिशत भूभाग खेतीयोग्य, ५५ प्रतिशत भूभाग वन जंगल र ८ प्रतिशत भूभाग खोलानालाले ओगटेको छ । भूतलीय उचाईको हिसाबले हेर्दा यो जिल्ला समुद्री सतहदेखि दक्षिणमा १६० मिटरदेखि उत्तरमा १,५२८ मिटर सम्मको उचाईमा अवस्थित छ । जिल्लाको पूर्व पश्चिम औसत लम्बाई ४४ कि.मि. र उत्तर – दक्षिण औसत चौडाइ ३४ कि.मि. रहेको छ ।
भौगोलिक विभाजनको आधारमा यस जिल्लालाई चुरे भूभाग भावरको भूभाग र तराईको मैदान गरी ३ भागमा विभाजन गरी हेर्न सकिन्छ । महाकाली , जोगबुढा, चौधर, मोहना, स्याली, बनारा, डोडा, सोनवरा नदीहरु यस जिल्ला भएर बग्ने प्रमुख नदीहरु हुन । महाकाली बाहेक अन्य सबै नदिहरुको मुहान महाभारत पर्वत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खला रहेका छन् ।
© All Rights Reserved to District Administration Office, Kanchanpur .